


शारदीय नवरात्र (नौरथा) हिन्दुहरुको सबैभन्दा ठूलो र महत्वपूर्ण पर्व हो। यसलाई दशैं वा बडादशैं पनि भनिन्छ। "शारदीय" भन्नाले शरद ऋतुमा पर्ने, "नव" भन्नाले नौ र "रात्रि" भन्नाले रात भन्ने बुझिन्छ। यो पर्व आश्विन महिनाको शुक्ल प्रतिपदादेखि दशमीसम्म नौ रात र दस दिनसम्म मनाइन्छ। यसमा देवी दुर्गाका विभिन्न रूपहरूको पूजा गरिन्छ। यो पर्वले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र खराब शक्तिमाथि राम्रो शक्तिको विजयलाई सम्झाउँछ। हिन्दू धर्मशास्त्र अनुसार देवी दुर्गाले महिषासुर नामक दैत्यलाई नौ दिनसम्म युद्ध गरेर दशमीको दिन पराजित गरेकी थिइन्, त्यसैले यसलाई विजयादशमी भनिन्छ।
यस पर्वको गहिरो धार्मिक र दार्शनिक अर्थ छ। यसमा देवी दुर्गाका नौ रूपहरूको पूजा गरिन्छ। शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नौ रूपको पूजा गर्दा शक्ति, साहस, धन, ज्ञान, बुद्धि र शान्ति प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ। नवरात्रिको नौ दिनलाई आध्यात्मिक साधनाको रूपमा पनि लिइन्छ। पहिलो तीन दिन दुर्गालाई समर्पित गरी आलस्य, अज्ञान र क्रोध जस्ता तामसिक गुण हटाइन्छ। बीचका तीन दिन लक्ष्मीलाई समर्पित गरी धन, समृद्धि र सकारात्मकता जस्ता राजसिक गुण बढाइन्छ। अन्तिम तीन दिन सरस्वतीलाई समर्पित गरी विद्या, विवेक र शुद्धता जस्ता सात्विक गुण प्राप्त गर्न खोजिन्छ। यसरी यो पर्व आन्तरिक शुद्धि र आध्यात्मिक उत्थानको यात्रा पनि हो।
नवरात्रि विशेष अनुष्ठानहरूले भरिएको हुन्छ। पहिलो दिन घटस्थापना हुन्छ। यस दिन शुभ मुहूर्तमा कलश स्थापना गरी जमरा रोपिन्छ र देवीको प्रतीकका रूपमा पूजा गरिन्छ। भक्तहरूले व्रत बस्ने गर्छन्, कतिपयले दिनमा एकपटक मात्र फलाहार गर्छन् भने केहीले कठोर व्रत पनि गर्छन्। सप्तमीको दिन फूलपाती भित्र्याइन्छ जसमा नौवटा बोटबिरुवा देवीको नौ रूपका प्रतीकका रूपमा पूजा गरिन्छ। अष्टमी र नवमी नवरात्रिका सबैभन्दा महत्त्वपूर्ण दिन हुन्। अष्टमीमा विशेष पूजा, कालरात्रि पूजा र कन्या पूजा गरिन्छ। साना कन्यालाई देवीको स्वरूप मानी पूजिन्छ, उनीहरूलाई नयाँ लुगा, मिठाई र उपहार दिइन्छ। यस दिन परम्परागत रूपमा बलिदान दिने प्रथा पनि रहेको छ तर अहिले धेरैजसोले तरकारी वा फलको प्रतीकात्मक बलि दिन्छन् साथै नरिवलको बलिलाई पनि बिशेष प्राथमिकता दिईन्छ। नवमीको दिन अयुद्ध पूजा हुन्छ जसमा आफ्नो जीवनयापनका साधन—जस्तै हलो, कोदाली, किताब, कलम, गाडी वा हतियार आदिलाई देवीको आशीर्वाद स्वरूप पूजा गरिन्छ।
नवरात्रि समाप्त भएपछि दशमी अर्थात् विजयादशमी आउँछ। यस दिनलाई सबैभन्दा शुभ दिन मानिन्छ। यो दिन मान्यजनहरु बाट टीका, जमरा र आशीर्वाद लिन्छन्। टीका अक्षता , दही र अबिरको मिश्रणले तयार पारिन्छ। मान्यजनहरुले देवीको प्रसाद स्वरूप रातो दहि अक्षताको टिका र जमरा लगाईदिने प्रचलन छ। यससँगै दक्षिणा र शुभकामना दिइन्छ। दशमीका दिन नयाँ काम, व्यापार, अध्ययन वा यात्रा सुरु गर्न अत्यन्तै शुभ मानिन्छ। यस दिन परिवारका सबै सदस्यहरू भेला हुन्छन्, भोज गर्छन् र खुसीसाथ पर्व मनाउँछन्।
यसरी शारदीय नवरात्रि केवल देवी पूजा मात्र नभई श्रद्धा, विश्वास, पारिवारिक मेलमिलाप र सामाजिक सद्भावको पर्व हो। यसले मानिसलाई भौतिक, मानसिक र आध्यात्मिक बल प्रदान गर्छ। देवी दुर्गाको आराधना गरेर भक्तजनले जीवनमा शक्ति, शान्ति र समृद्धि प्राप्त गर्छन् भन्ने विश्वास छ। यो पर्वले धर्म, सत्य र न्यायमा विश्वास गर्न प्रेरणा दिन्छ र सम्पूर्ण समाजमा एकता, खुसी र सद्भाव फैलाउँछ।
Your email address will not be published. Required fields are marked *
0 Comments