


श्राद्ध भन्ने शब्द नै श्रद्धा शब्दबाट बनेको हो। यसको अर्थ श्रद्धा, विश्वास, आस्था र कृतज्ञता हो। जसरी हामी हाम्रो जीवित आमाबाबु, हजुरबा–हजुरआमा, गुरुलाई सम्मान र सेवा गर्छौं, त्यस्तै गरी दिवङ्गत पितृ अर्थात् स्वर्गवासी परिवारका सदस्यलाई पनि सम्झनु, सम्मान गर्नु र उनीहरूको आत्माको शान्ति तथा उद्धारको लागि गरिने धार्मिक विधिलाई नै श्राद्ध भनिन्छ।
आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा समेत बताइएको छ । आश्विन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने समय हो, त्यसैले यसलाई पितृपक्ष भन्दछन् । एक पक्षमा १५ दिन हुन्छ तर यतिबेला गरिने श्राद्धलाई किन सोह्र श्राद्ध भनिएको भन्ने जिज्ञासा उठन सक्छ। खासगरी एक पक्षमा १५ तिथि हुने भए पनि आश्विन कृष्णपक्ष प्रतिपदादेखि औशी सम्म १५ तिथि र आश्विन शुक्ल प्रतिपदा (मातामह श्राद्ध) एक तिथि जोडेर जम्मा सोह्र दिनको समयलाई सोह्रश्राद्ध भनिएको हो। पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्युतिथि समातेर श्राद्ध गर्दछन्। यस अवधिमा दिवङ्गत पितृहरूको आत्मा पृथ्वीमा आउने विश्वास गरिन्छ। उनीहरू आफ्ना वंशजसँग भेट्न, आशीर्वाद दिन र तृप्त हुन आउँछन् भन्ने धार्मिक मान्यता छ। त्यसैले यस समयमा गरिने पिण्डदान, तर्पण, ब्राह्मणभोजन र दानलाई सबैभन्दा महत्वपूर्ण मानिन्छ।
सूर्ये कन्या गते श्राद्धं यो न कूर्यात् गृहाश्रमी।
धनपुत्राः कुतस्तस्य पितृनिश्वास पीडनात्।।
अर्थात् गृहस्थी भएर आश्विनको पितृपक्षमा श्राद्ध नगर्ने, उसका धन र सम्पत्ति, वैभव एवं उसका सन्तति निरर्थक हुन्छन्, पितृहरू असन्तुष्ट भई निरन्तर निश्वास जस्तै दुख दिँदै सन्तानलाई पीडित पार्छन्।
श्राद्ध गर्ने मुख्य उद्देश्य भनेको हाम्रो जन्मदातृ पितृप्रति कृतज्ञता व्यक्त गर्नु हो। जसरी बोटको जरालाई पानी हाल्दा पूरा बोट हरियो र फलफूलले भरिन्छ, त्यस्तै गरी पितृलाई सम्झेर श्राद्ध गर्दा वंशधारामा आयु, विद्या, धन, समृद्धि, शान्ति र मोक्ष प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता छ।
यदि पितृलाई तृप्त नगरी छाडियो भने, उनीहरू असन्तुष्ट भएर वंशधारामा विभिन्न बाधा, अभाव र अशान्ति ल्याउँछन् भन्ने भनाइ पनि छ। यसलाई नै पितृदोष भनिन्छ। कुन ज्योतिषशास्त्रमा सूर्य–राहु वा सूर्य–केतु दोष भएमा पनि पितृदोष हुन्छ भनिएको छ। यस्तो अवस्थामा पितृपक्षमा श्राद्ध, पिण्डदान र तर्पण अनिवार्य गर्नुपर्छ।
श्राद्ध दिनको मध्याह्न वा अपराह्न समयमा गर्नु उपयुक्त हुन्छ। बिहान सबेरै वा साँझपख गर्नु शास्त्रअनुसार उचित मानिँदैन।
श्राद्ध गर्दा सधैं दक्षिण दिशातर्फ फर्केर बस्नुपर्छ, किनकि पितृलोक दक्षिण दिशामा मानिन्छ। त्यसैले पिण्डदान, तर्पण र भोजन सबै दक्षिणाभिमुख भएर गर्नुपर्छ।
श्राद्धमा प्रयोग हुने सामग्रीलाई अत्यन्त पवित्र मानिन्छ।
कुश – श्राद्धमा कुशको आसन, पिण्ड राख्ने कुश, जल तर्पणमा कुश अनिवार्य हुन्छ।
जल – शुद्ध पानी पितृलाई तर्पण गर्नुपर्छ।
कालो तिल – पितृ तर्पणको मूल सामग्री हो।
दूध, मह, घिउ – पिण्डमा मिसाउन प्रयोग हुन्छ।
तुलसी मञ्जरी – पवित्रता र मोक्ष प्रदान गर्ने शक्तिशाली वनस्पति मानिन्छ।
चामल – पिण्ड तयार पार्न।
पिण्ड प्रायः पकाएको भात (चामल) बाट बनाइन्छ। विकल्प र बिशेष अवस्थामा जौको पिठोको पनि पिण्ड तयार गरिन्छ, यसमा कालो तिल, घिउ, मह र दूध, दहि भागीरथिको जल, तुलसी मिसाएर गोलो आकारको पिण्ड बनाइन्छ।
श्राद्धमा चढाउन सकिने फूलहरू: अगस्ती, तुलसी, सयपत्री, चाँप, भृंगराज, पारिजात,तिलको फूल आदि।टकर र पातीलाई पनि स्थान अनुसार चढाउन सकिन्छ ।
तर चढाउन नहुने फूलहरू पनि छन्: केतकी, करवीर, वकुल, कुन्द, पाटली, जाई आदि।
श्राद्ध गर्ने व्यक्तिले शुद्ध र सफा वस्त्र लगाउनुपर्छ। सेतो वा पहेंलो रंगको वस्त्र शुभ मानिन्छ।
श्राद्धमा रातो, कालो, हरियो वा चम्किला रंग प्रयोग नगर्नू भन्ने शास्त्रीय नियम छ।
श्राद्धमा नजिकका बन्धुबान्धवलाई बोलाउने परम्परा छ।
छोरीपट्टिका नातिनातिनी, ज्वाइँ, भान्जा, भान्जी, दाजुभाइ, मामा–काका जस्ता नजिकका आफन्तलाई बोलाएर उनीहरूलाई भोजन गराउने र दक्षिणा दिने चलन छ।
तर पतित, अपवित्र वा नशा गर्ने व्यक्तिलाई बोलाउन हुँदैन। श्राद्धमा शुद्धता नै पहिलो कुरा हो।
श्राद्धको अवधिमा केही काम निषेध गरिएका छन्।
विवाह, व्रतबन्ध, गृहप्रवेश जस्ता उत्सव नगर्ने।
नयाँ घर बनाउने, व्यवसाय सुरु गर्ने जस्ता शुभ काम नगर्ने।
माछामासु, मदिरा, प्याज, लसुन, मुसुरो दाल, लौका, हिङ आदि खान निषेध।
अनावश्यक खर्च, देखावटी प्रदर्शन नगर्ने।
श्राद्धलाई गुप्त धर्म भनिन्छ। यसलाई प्रदर्शन गर्नु भन्दा श्रद्धा र शुद्धतापूर्वक गर्नु सबैभन्दा आवश्यक हुन्छ।
श्राद्ध गर्दा पितृहरू तृप्त हुन्छन्। उनीहरू प्रसन्न भएर वंशधारालाई आशीर्वाद दिन्छन्।
श्राद्ध नगरेको अवस्थामा पितृ असन्तुष्ट हुन्छन् र परिवारमा विभिन्न समस्याहरू आउँछन् भन्ने विश्वास छ।
शास्त्रमा भनिएको छ –
“श्राद्धं कृत्वा तु यः पुत्रः पितॄन् तर्पयते सदा।
स तेषां प्रीतिकार्यं स्यात् तृप्तिर्भवति शाश्वती॥”
अर्थात्, जसले श्राद्ध गरेर पितृलाई तर्पण गर्छ, त्यसको कारणले पितृहरू सधैं प्रसन्न हुन्छन् र तृप्त हुन्छन्।
श्राद्ध गर्दा सन्तानलाई आयु, विद्या, धन, राज्य, स्वास्थ्य, सन्तान सुख, समृद्धि र अन्ततः मोक्ष प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता छ।
श्राद्ध नगर्ने वा पितृलाई स्मरण नगर्ने सन्तानलाई पितृप्रकोप भोग्नुपर्छ भन्ने पनि भनिन्छ।
श्राद्ध केवल एक धार्मिक कर्म मात्र होइन, यो हाम्रो संस्कार र कर्तव्य हो। हामी जसरी हाम्रो आमाबाबु, गुरुलाई सम्मान गर्छौं, त्यस्तै दिवङ्गत पितृलाई पनि सम्झनुपर्छ। श्राद्धले हामीलाई “हामी हाम्रो जरा प्रति कृतज्ञ छौं” भन्ने भाव सिकाउँछ।
पितृपक्षमा श्रद्धा, शुद्धता र नियम पालन गरेर गरिने श्राद्ध–पिण्डदानले दिवङ्गत आत्मालाई तृप्त मात्र गर्दैन, सन्तानलाई पनि पुण्य र समृद्धिको मार्ग प्रदान गर्छ। यसैले श्राद्धलाई हिन्दू संस्कारमा अनिवार्य र पवित्र कर्तव्य मानिन्छ।
Your email address will not be published. Required fields are marked *
0 Comments