


हिन्दू धर्म अथवा सनातन धर्मलाई संस्कारको धर्म पनि भनिन्छ। संस्कार भन्नाले जीवनलाई शुद्ध, पवित्र, मर्यादित र संस्कारित बनाउने धार्मिक तथा सामाजिक विधिलाई जनाइन्छ। हाम्रो जीवन जन्मदेखि मृत्युसम्म विभिन्न चरणहरू हुँदै अगाडि बढ्छ। यी सबै चरणहरूलाई शुद्धिकृत गर्न र जीवनलाई परम लक्ष्य (मोक्ष) तर्फ अग्रसर बनाउनका लागि ऋषि–मुनिहरूले संस्कारहरूको व्यवस्था गरेका थिए।गौतम स्मृति मा चालीस प्रकारका संस्कारहरूको उल्लेख पाइन्छ। मुनि अंगिरा ले तिनलाई घटाएर पच्चीस संस्कारमा सीमित गरेका छन्। व्यासनिर्मित स्मृति मा सोह्र (१६) संस्कारहरूको वर्णन गरिएको छ। हाम्रा धर्मशास्त्रहरूमा पनि मुख्य रूपमा सोह्र संस्कारहरूको व्याख्या गरिएको पाइन्छ।
यी १६ संस्कारलाई "षोडश संस्कार" भनिन्छ। धर्मशास्त्रहरूमा यसलाई अनिवार्य मानिएको छ, किनभने यी संस्कारहरूले मात्र मानवलाई "संस्कारवान्" अर्थात् योग्य, मर्यादित र सभ्य प्राणी बनाउँछन्।
मानव जीवन केवल जैविक अस्तित्व मात्र होइन, यो आध्यात्मिक र सामाजिक यात्रा पनि हो। संस्कारहरूले मानिसलाई आचरण, शुद्धता र नैतिकताको बाटोमा हिँड्न प्रोत्साहन दिन्छन्। गर्भाधान संस्कारबाट सुरु भएर अन्त्येष्टि संस्कारसम्म यी विधिहरूले मानिसको सम्पूर्ण जीवनलाई नियमन गर्छन्।
१.गर्भाधान संस्कार
हाम्रो हिन्दुवैदिक १६ संस्कारमध्ये गर्भाधान संस्कार पहिलो हो । गृहस्थ जीवनमा प्रवेश गरेपछिको प्रथम कर्तव्यका रूपमा यसलाई लिने गरेको पाइन्छ । उत्तम सन्तान प्राप्तिका लागि तन र मन शुद्ध पार्नु हो। अन्नको बिउ रोप्नु अघि गरिने शुद्धीकरण जस्तै, यो संस्कार पनि सन्तानोत्पत्तिको तयारीका रूपमा गरिन्छ।
गार्हस्थ जीवनको प्रमुख लक्ष्य श्रेष्ठ सन्तान उत्पादन भएकाले यो संस्कारलाई अत्यन्त धार्मिक र वैज्ञानिक दृष्टिले महत्वपूर्ण मानिन्छ। उत्तम सन्तानको इच्छा राख्ने मातापिताले गर्भाधान हुनु अघि आफ्नो तन र मनको पवित्रताका लागि गर्भाधान संस्कार गर्नुपर्ने शास्त्रीय विधान छ । वर्तमान समयमा यो संस्कार लोप हुदै गएको देखिन्छ । प्राचीन कालमा जनसङ्ख्या बढाउने उद्देश्य रहेका कारण यो अनिवार्य थियो भने वर्तमान समयमा जनसङ्ख्याको चापले पनि यसको महत्त्व घट्दै गएको हुनसक्छ ।शास्त्रले यसका लागि उपयुक्त तिथि, बार र नक्षत्र तोकेको छ। मघा, रेवती र ज्येष्ठा नक्षत्र वर्जित मानिन्छ।
आजको समयमा यसको प्रचलन घट्दै गए पनि, गर्भाधान संस्कार मानव जीवनको शुद्धता र सन्तानोत्पत्तिको शुद्ध माध्यमका रूपमा महत्वपूर्ण संस्कार हो।
२.पुंसवन संस्कार

वैदिक १६ संस्कार मध्ये दोस्रो संस्कार पुंसवन संस्कार हो। गृहस्थ जीवनमा प्रवेश गरेपछि गरिने यो संस्कार गर्भवती महिलाको गर्भको तेस्रो महिनामा वा भ्रूण कोखामा सर्नु अघि सम्पन्न गरिन्छ। यो समारोहले विकासशील भ्रूणको पासको अनुष्ठान मनाउँछ, जहाँ बच्चाले बच्चाको विकासमा कोसेढुङ्गाको रूपमा किक गर्न सुरु गर्दछ।
‘पुंसवन’ (संस्कृत: पुंस + सवन) शब्दको अर्थ हुन्छ — “जीवनको सार ल्याउने” वा “सन्तानको आत्मा छिटो विकास होस्” भन्ने उद्देश्ययुक्त संस्कार। यसको मुख्य उद्देश्य गर्भस्थ शिशुको उत्तम विकास र स्वस्थ, गुणवान् सन्तान प्राप्ति हो।पुंसवन संस्कारको पहिलो उद्देश्य पुत्र प्राप्ति र दोस्रो उद्देश्य स्वस्थ, सुन्दर तथा गुणवान् शिशु प्राप्ति हो।
शास्त्रमा भनिएको छ —
“गर्भात् भवेच्च पुंसूते पुंस्त्वस्य प्रतिपादनम्।”
अर्थात्, गर्भबाट पुत्र जन्मियोस् भन्ने कामनासहित यो संस्कार गरिन्छ।
यस क्रममा मन्त्र उच्चारण गरिन्छ —
“पुमान्नग्नि पुमानिन्द्रः पुमान्देवो बृहस्पति,
पुमांसं पुत्रं विन्दस्व तं पुमान्ननुजायताम्।”
यस मन्त्रले इन्द्र, अग्नि र बृहस्पति जस्ता पुरुष देवताबाट प्रेरणा लिएर पुत्रतुल्य सन्तान प्राप्तिको कामना गरिन्छ।
यो संस्कार गर्भवती महिलाको पति द्वारा गरिनु पर्छ। शास्त्रमा भनिएको छ —
“पतिः पुंसवनसंस्कारस्य प्रथमोऽधिकारी वर्तते।”
अर्थात् पुंसवन संस्कारमा पतिलाई नै पहिलो अधिकारी मानिएको छ।
पुंसवन संस्कार शुभ मुहूर्तमा सम्पन्न गरिन्छ।
दीप, कलश, गणेश पूजन गरी, वटवृक्षका नयाँ पात, पाउला र कुशको जराबाट रस तयार पारिन्छ र सो रस गर्भिणी महिलालाई दाहिने नाकको प्वालबाट पतिद्वारा पियाइन्छ।
यस क्रममा वैदिक मन्त्र —
“ॐ हिरण्यगर्भ समवर्तताग्रे भूतस्य जातः पतिरेक आसीत्...” उच्चारण गरिन्छ।
यो संस्कारले गर्भस्थ शिशुको शारीरिक, मानसिक र आध्यात्मिक विकासमा सकारात्मक प्रभाव पार्छ। आमाबाबुको सोच, भाव र व्यवहारले भ्रूणमाथि प्रत्यक्ष प्रभाव पार्ने भएकाले पुंसवन संस्कारलाई धार्मिक र वैज्ञानिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ।
३.सीमन्तोन्नयन संस्कार

हाम्रो वैदिक १६ संस्कार मध्ये तेस्रो संस्कार सीमन्तोन्नयन संस्कार हो। गृहस्थ जीवनमा प्रवेश गरेपछिको तेस्रो कर्तव्यका रूपमा यो संस्कार सम्पन्न गरिन्छ। गार्हस्थ जीवनको प्रमुख उद्देश्य श्रेष्ठ सन्तानोत्पादन भएकाले यस संस्कारलाई धर्मशास्त्रमा अत्यन्त महत्त्व दिइएको छ।यो संस्कारलाई “सीमन्तकरण” वा “सीमन्त संस्कार (सिउँदो काड्ने)” पनि भनिन्छ।सीमन्तोन्नयन संस्कारको मुख्य उद्देश्यहरू सौभाग्य (मङ्गल) प्राप्त गर्नु, श्रेष्ठ सन्तानोत्पादन गर्नु, गर्भपात रोक्नु र गर्भस्थ शिशुको सुरक्षा सुनिश्चित गर्नु।यसले गर्भिणी महिलाको मानसिक शान्ति र प्रसन्नता बढाउने कार्य गर्छ, जसले भ्रूणको विकासमा सकारात्मक प्रभाव पार्छ।
शुभ दिनमा देवपूजन र अग्निस्थापना गरी, गर्भिणी स्त्रीलाई सौभाग्यवती महिलाहरूले कपाल कोरेर सिउँदो काड्ने कार्य गर्छन्। यो कार्यको लागि विशेष रूपमा श्रीखण्डको काइंयो प्रयोग गरिन्छ भन्ने विधान संस्कारग्रन्थमा उल्लेख गरिएको छ।सीमन्तोन्नयन संस्कार सामान्यतया गर्भधारणको छैटौँ वा आठौँ महिनामा गरिन्छ।
यो संस्कारले गर्भिणी स्त्रीको मानसिक सान्त्वना, स्वास्थ्य र शिशुको समुचित विकासमा बल पुर्याउँछ।त्यसैले सीमन्तोन्नयन संस्कार धार्मिक, सांस्कृतिक र वैज्ञानिक दृष्टिले समान रूपमा महत्वपूर्ण छ।
४.जातकर्म संस्कार

जातकर्म संस्कार शिशुको जन्मपछि गरिने पहिलो संस्कार हो।यो संस्कार नवजात शिशुको नाल काट्नुभन्दा पहिले गरिने विधान हो। शिशु जब पहिलो पटक यो संसारमा प्रवेश गर्छ, तब उसको आयु, आरोग्य (स्वास्थ्य), बल र बुद्धि दीर्घकालसम्म रहोस् भन्ने कामनाका साथ यो संस्कार सम्पन्न गरिन्छ। यस संस्कारद्वारा नवजात शिशुलाई शुभाशिष र जीवनको प्रथम धार्मिक संस्कार प्रदान गरिन्छ। संस्कारको मुख्य कार्यमा ब्राह्मणले निम्न मन्त्रद्वारा शिशुलाई घिउ र मह चटाउने विधान छ —
“ॐ भूस्त्वयि दधामि, ॐ भुवस्त्वयि दधामि, ॐ स्वस्त्वयि दधामि, ॐ भूर्भुवः स्वः सर्वं त्वयि दधामि।”
यसपछि शिशुलाई वेद मन्त्रसहित आयु, बल, बुद्धि प्राप्त होस् भन्ने आशीर्वचन (त्र्यायुष मन्त्र) उच्चारण गरिन्छ —
“त्र्यायुषञ्जमदग्नेः कस्यपस्य त्र्यायुषम्...” अन्त्यमा शिशुलाई वेद मन्त्रोच्चारणका साथ आमाको स्तनपान गराइन्छ, जुन मातृत्व र जीवनको प्रारम्भिक संस्कारको प्रतीक हो।आधुनिक समयमा यो संस्कार लोप हुँदै गएको देखिन्छ, तर वैदिक परम्पराअनुसार यो संस्कार नवजात शिशुको शुभारम्भ, स्वास्थ्य र दीर्घायुको प्रतीक मानिन्छ।
५.नामकरण (न्वारान) संस्कार

नामकरण संस्कार वा न्वारान संस्कार हिन्दु धर्मका सोह्र संस्कार (षोडश संस्कार) मध्ये एक महत्त्वपूर्ण संस्कार हो।यस संस्कारमा शिशुलाई औपचारिक रूपमा नाम प्रदान गरिन्छ।
सामान्यतया, शिशु जन्मेको ११ औँ दिनमा यो संस्कार सम्पन्न गरिन्छ।वैदिक ग्रन्थ अनुसार शिशु जन्मेको पहिलो १० दिनलाई "वृद्धि सूतक" भनिन्छ,त्यसैले ११ औँ दिनलाई शुद्ध र शुभ मानिँदै नामकरण गर्ने चलन चलेको हो। शुभ नक्षत्र वा उपयुक्त तिथिमा कर्मकाण्ड विज्ञ ब्राह्मणद्वारा यो कार्य सम्पन्न गरिन्छ।
नाम केवल परिचय होइन,व्यक्तित्व, व्यवहार र भाग्यसँग गहिरो सम्बन्ध राख्दछ। ज्योतिष शास्त्रले पनि नामकै आधारमा भविष्यको रूपरेखा निर्धारण गर्दछ। शास्त्र अनुसार शिशुको जन्म तिथि, नक्षत्र, समय र स्थानलाई आधार मानेर शुभ अक्षर चयन गरी नाम तय गरिन्छ।मनोविज्ञानका अनुसार, महान् व्यक्तिहरूका नाम बोकेको बालकमा सकारात्मक मनोवैज्ञानिक प्रभाव पर्छ।त्यसैले नामकरण संस्कारलाई अत्यन्तै आध्यात्मिक र सांस्कृतिक महत्त्वपूर्ण संस्कार मानिन्छ। न्वारानको दिनमा षण्डामर्क हवन आदिबाट वातावरण पवित्र गरिन्छ। शिशुको जन्म नक्षत्र र पाउ (चरण) बाट प्राप्त अक्षर अनुसार नाम तय गरिन्छ। सो नामलाई दुई वटा पिपलका पातमा लेखी प्राण प्रतिष्ठा गरिन्छ। त्यसपछि ब्राह्मणद्वारा शिशुको दाहिने कानमा निम्न प्रकारले नाम उच्चारण गरिन्छ —"हे शिशो! त्वं अमुक असि।" (हे बालक! तिमी अमुक अर्थात् [नाम] हौ।) नाम सामान्यतया अर्थवान हुनुपर्छ।नामकरण संस्कार शिशुको जीवनको पहिचान, अस्तित्व र संस्कारको शुभ प्रारम्भ हो।यो केवल नाम दिने परम्परा होइन, बरु एक धार्मिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा गहिरो अर्थपूर्ण संस्कार हो, जसले बालकको जीवनमा शुभता, बुद्धि र दीर्घायुको कामना गर्दछ।
६.निष्क्रमण संस्कार

निष्क्रमण संस्कार हिन्दु धर्मका सोह्र संस्कार (षोडश संस्कार) मध्ये पाँचौं संस्कार हो।शिशु जन्मिएको करिब चार महिनापछि बालकलाई पहिलो पटक घरबाट बाहिर निकाल्ने परम्परा नै निष्क्रमण संस्कार हो।यो संस्कार शिशुको दैवी जगत्मा प्रवेश र परमात्मासँग सम्बन्ध दृढ गर्ने प्रतीकात्मक कार्य हो।यसको उद्देश्य बालकलाई संसारसँग परिचित गराउँदै धर्म, मर्यादा र दीर्घायू जीवनको कामना गर्नु हो।निष्क्रमण संस्कारको क्रममा शिशुलाई सूर्यको तेज, चन्द्रमाको शीतलता, पृथ्वीको सहनशीलतार सम्पूर्ण प्रकृतिको दर्शन गराइन्छ। यस संस्कारद्वारा शिशुलाई दैवी आशीर्वाद प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ।वैज्ञानिक दृष्टिले पनि, नवजात शिशुको शरीर चार महिनासम्म बाहिरी वातावरणसँग पूर्ण रूपमा अनुकूल हुँदैन, त्यसैले पहिले घरभित्र सुरक्षा र तत्पश्चात् विस्तारै बाहिरी संसारमा परिचय गराउने यो अभ्यासस्वास्थ्य र मनोवैज्ञानिक रूपमा पनि लाभदायक मानिन्छ। शुभ मुहूर्तमा दियो, कलश, गणेश, सूर्य, चन्द्र, पृथ्वी र इष्टदेवताको पूजा गरिन्छ। बालकलाई स्नान गराई पवित्र वस्त्र पहिराइन्छ। त्यसपछि शिशुलाई पहिलो पटक घरको बाहिर सूर्य वा चन्द्रको प्रकाशमा ल्याइन्छ।सूर्यदेवको तेज, चन्द्रदेवीको शीतलता र पृथ्वीदेवीको स्थिरताको कामना गर्दैबालकको माथि वेदिक मन्त्र उच्चारण गरिन्छ।उपस्थित पूजक, ब्राह्मण र परिवारका ज्येष्ठ सदस्यहरूले शिशुलाई दीर्घायु, यश, बल र आरोग्यको आशीर्वाद दिन्छन्।निष्क्रमण संस्कार केवल बालकलाई बाहिर निकाल्ने अनुष्ठान मात्र होइन,यो प्रकृति, देवत्व र मानव जीवनबीचको प्रथम सम्पर्कको प्रतीक हो।यसले बालकमा दैवी चेतना, शारीरिक स्फूर्ति र सामाजिक जीवनप्रति आत्मीयता जागृत गराउँछ।चार महिनामा गर्नु पर्ने संस्कार भएता पनि आधुनिक समयमा यो संस्कार न्वारानको दिनमा नै सुर्यको दर्शन गराएर गरिन्छ। यसको धार्मिक, सांस्कृतिक र वैज्ञानिक मूल्य अझै पनि अत्यन्त गहिरो छ।
७.अन्नप्राशन संस्कार (पास्नी)
अन्नप्राशन संस्कार वा पास्नी हिन्दू धर्मका सोह्र संस्कार मध्ये एक प्रमुख संस्कार हो।शिशुलाई पहिलो पटक अन्न ग्रहण गराइने यो संस्कार सामान्यतःछोरीको पाँचौ वा सातौँ र छोराको छैटौँ वा आठौँ महिनामा गरिन्छ।शिशुको शरीरमा जन्मपछि केही महिनासम्म बाहिरी अन्न पचाउने क्षमता हुँदैन,तर जब शिशु शारीरिक र मानसिक रूपमा विकसित हुन थाल्छ,त्यसपछि उसको पौष्टिक आवश्यकताको पूर्तिका लागि अन्नप्राशन संस्कार गरिन्छ।यो संस्कार स्वस्थ विकास र दीर्घायू जीवनको शुभ संकेत हो।अन्नप्राशन संस्कारको उद्देश्य शिशुलाई माताको दूधबाट प्राप्त पौष्टिक आहारसँगै बाह्य अन्न ग्रहण गर्ने योग्य बनाउनु हो।अन्नलाई हिन्दू धर्ममा “ब्रह्मस्वरूप” मानिन्छ —
“अन्नं ब्रह्मा, रसो विष्णुः, भुक्ता देवो महेश्वरः।”
यसले जनाउँछ कि अन्न नै जीवनको आधार हो।शुद्ध, सात्विक र पौष्टिक अन्नलेशारीरिक बल, मानसिक स्फूर्ति र आध्यात्मिक चेतना बढाउँछ।“स्वस्थ तनमा स्वस्थ मन” बस्ने सिद्धान्त अनुसारयो संस्कारले बालकको जीवनमा पवित्रता र स्वास्थ्यको नयाँ अध्याय सुरु गर्छ।पाचौँ वा छैठौँ महिनामा, शुभ तिथि र नक्षत्र हेरी अन्नाप्राशन गरिन्छ।दीप,कलश, गणेश, कुलदेवताहरुको पूजन पश्चात् शिशुलाई खिर (क्षीरान्न) वा अन्य मिठा अन्नको पहिलो चम्चा खुवाइन्छ। प्रायः यो कार्य शिशुको बुबा वा घरको ज्येष्ठ सदस्यले गराउने चलन छ।शिशुको मुखमा अन्न पुर्याउँदा “ॐ अन्नं ब्रह्म” मन्त्र उच्चारण गरेर खुवाउनु राम्रो हुन्छ।परिवार, नातेदार र छिमेकीहरूलाई निमन्त्रणा गरेर प्रसाद वितरण, आशीर्वाद ग्रहण र उपहार आदान–प्रदानको परम्परा गरिन्छ।
अन्नप्राशन संस्कार केवल शिशुलाई पहिलो अन्न खुवाउने परम्परा मात्र होइन,यो संस्कार जीवनका प्रथम पौष्टिकता, धर्म र संस्कारका प्रतीकहरू मध्ये एक हो।शुद्ध अन्न, पवित्र वातावरण र भक्तिभावले सम्पन्न अन्नप्राशनलेबालकको जीवनमा स्वास्थ्य, शुद्धता र समृद्धिको आशीर्वाद प्रदान गर्छ।
८.चूडाकर्म संस्कार (क्षौर संस्कार)
पहिलो पल्ट बालकको केश मुण्डन गर्ने कार्यलाई चूडाकर्म भनिन्छ । यसको अर्को नाम क्षौर पनि हो, जुन पछि अपभ्रंश भएर छेवर भएको देखिन्छ । सर्वसाधारणले यसलाई छेवर संस्कार भनेर पनि चिन्ने गरिन्छ ।
“शिरोमुण्डनं शुद्धये, रोगनाशनाय च।”
(केश मुण्डनले शुद्धता र रोगनाश हुन्छ।)
केशलाई पूर्ण रूपमा मुण्डन गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसले शिरमा रहेको मयल सफा गर्न सजिलो बनाउँछ । शास्त्र अनुसार, बालकले गर्भमा रहँदा पाएको दूषित केश फालेर शरीर र मनको शुद्धीकरण गर्नु नै यस संस्कारको मुख्य उद्देश्य हो । गाउँ समाजमा बालकको केश काटेपछि “रोग पनि काटिन्छ” भन्ने परम्परागत विश्वास रहेको छ । यो संस्कार सामान्यतः बालकको १, ३, ५ वा ७ वर्षको उमेरमा गरिन्छ ।उत्तरायणकालको चैत्र महिनामा छोडी सोम, बुध, गुरु वा शुक्रबार तथा अश्विनी, मृगशिरा, पुनर्वसु, तिष्य, हस्ता, चित्रा, स्वाती आदि शुभ नक्षत्रमा गर्नु शुभ मानिन्छ ।संस्कारका क्रममा दियो, कलश, गणेशपूजन र अग्निस्थापना गरिन्छ ।
हाम्रो परम्पराअनुसार, मामाले बालकको कपाल काट्ने र दिदीबहिनीले काँसको थालमा थाप्ने चलन छ ।काटिएका केशलाई नदी वा तीर्थमा विसर्जन गरिन्छ ।आजकाल धेरै ठाउँमा यो संस्कार ब्रतबन्धको दिन पनि सम्पन्न गर्ने चलन छ ।
९. विद्यारम्भ संस्कार
विद्यारम्भ संस्कार जब बाल बालिकाको शिक्षा ग्रहण गर्न सक्ने क्षमता हुन्छ तब यो संस्कार गराउने प्रचालन छ । यो संस्कारको माध्यमले बालकले शिक्षाको लागि उत्सुकता बढ़ाउनुका साथै घरका सदस्य तथा शिक्षकहरूलाई पनि जागरूक गराउनु मुख्य उद्देश्य हुन्छ बालकको हातमा लेखन सामग्री (पेन्सिल कलमआदि) दिएर पुस्तिकामा लेखाउने अक्षरहरूको उच्चारण गराउनुका साथै ब्राह्मण द्वारा अग्निस्थापना आदि पूजापाठ पनि गराइन्छ ।अश्विनी, पुनवर्स, अश्लेषा, तिष्य, हस्ता, श्रवण, स्वाती, चित्रा, अनुराधा, रेवती नक्षत्र सुरुवातको लग्ही राम्रो हुन्छ ।
१०.कर्णभेद संस्कार (कान छेड्ने संस्कार)

उपनयन अथवा व्रतबन्ध भन्दा अघि गरिने यस संस्कारलाई कर्णभेद संस्कार भनिन्छ। यसलाई प्रचलित भाषामा कान छेड्ने संस्कार पनि भनिन्छ। बालक तथा बालिका दुबैका लागि यो संस्कार अनिवार्य रूपमा गर्ने चलन रहिआएको छ।
“श्रवणं ज्ञानद्वारम्”
(कान ज्ञानको द्वार हो, त्यसैले यसको शुद्धता र जागरण अति आवश्यक छ।)
हिन्दु धर्मका संस्कारहरू केवल धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक दृष्टिले पनि उपयोगी छन्। कर्णभेद संस्कार गर्दा कानका स्नायुहरू सक्रिय भई शरीरमा ऊर्जा सञ्चार हुन्छ। यो एक प्रकारको अक्युपङ्क्चर जस्तो प्राकृतिक चिकित्सा प्रक्रिया हो जसले बालबालिकालाई शारीरिक रोगव्याधिबाट बचाउँछ र उनको स्वास्थ्यमा सुधार ल्याउँछ ।
“कर्णे छिद्रं शुद्धये, रोगनाशनाय च।”
(कान छेड्नाले शुद्धता र रोगनाश दुवै हुन्छ।)
यो संस्कार शिशुको १२ वा १६ दिनमा, वा ६, ७, ८ महिनामा गर्न सकिन्छ ।सोम, बुध, गुरु, शुक्रबार शुभ बारहरू मानिन्छन् ।अश्विनी, मृगशिरा, तिष्य, श्रवण, धनिष्ठा, पूनर्वसु, चित्रा, अनुराधा, हस्ता, रेवती नक्षत्र र शुभ मुहूर्त हेरेर संस्कार गरिन्छ ।यसमा दियो, कलश, गणेश पूजनका साथै कानका अधिष्ठाता देवताको पूजा गरिन्छ ।विधिपूर्वक पूजनपछि
“भद्रं कर्णेभिः श्रृणुयाम देवा...” भन्ने वैदिक मन्त्र उच्चारण गरी बालक/बालिकाको कान छेडिन्छ ।
११.उपनयन(ब्रतबन्ध)

उपनयनलाई सरल भाषामा व्रतबन्ध पनि भनिन्छ ।यो हिन्दू धर्मको एक महत्वपूर्ण र प्राचीन संस्कार हो, जसले बालकको बाल्यावस्थाबाट ब्रह्मचर्याश्रममा प्रवेशको प्रतीकात्मक सुरुवात जनाउँछ। संस्कृत भाषामा ‘व्रत’ शब्दको अर्थ प्रतिज्ञा र ‘बन्ध’ शब्दको अर्थ बन्धन भन्ने हुन्छ, जसअनुसार व्रतबन्ध भन्नाले धार्मिक नियम र अनुशासनमा बाँधिने प्रक्रिया बुझिन्छ। बालकले यो संस्कारका माध्यमबाट जनै ग्रहण गर्छ र ब्रह्मचर्य पालन गर्ने, सत्कर्ममा लाग्ने, तथा धार्मिक आचरण पालन गर्ने प्रतिज्ञा गर्छ। हिन्दु धर्ममा जीवनलाई चार आश्रममा बाँडिएको छ— ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास— जसमा व्रतबन्धले पहिलो चरण अर्थात् ब्रह्मचर्याश्रमको आरम्भ गराउँछ।
“उपनयनं ब्रह्मद्वारस्य उद्घाटनम्।”
यस संस्कारको धार्मिक मात्र नभई सांस्कृतिक र नैतिक महत्त्व पनि छ। व्रतबन्ध पछि बालकलाई धार्मिक कार्यमा सहभागी हुन, मन्त्र जप गर्न र वेदाध्ययनको अधिकार प्राप्त हुन्छ। यस प्रक्रियामा मुण्डन (केवल टुप्पी बाँकी राख्ने गरी कपाल काट्ने) र जनै धारण गराउने विधि हुन्छ, जुन ब्रह्मचर्यको प्रतीक हो। संस्कारको दिन विशेष तिथि, शुभ मुहूर्त र ग्रह–नक्षत्र अनुसार निर्धारण गरिन्छ। बिहानैदेखि नित्यकर्म, पूजाआजा, र अग्निहोत्रजस्ता कार्यहरू सम्पन्न गरिन्छ।
व्रतबन्धमा गुरुले बालकलाई गायत्री मन्त्रको दीक्षा दिन्छन्, जसपछि बालकले हरेक वर्ष गुरु पूर्णिमाको दिन गुरुको पूजा गर्ने परम्परा रहन्छ। मामाको भूमिका पनि अत्यन्त महत्त्वपूर्ण हुन्छ — उनी भिक्षा दिने, संस्कार सम्पन्न गराउने र प्रतीकात्मक रूपमा बालकलाई गृहस्थ जीवनतर्फ फर्काउने व्यक्ति मानिन्छन्। व्रतबन्धपछि बालकले चोखो खानु, जनैको सम्मान गर्नु, भगवानको जप गर्नु र नित्यकर्महरूको पालन गर्ने प्रण गर्छ। यसरी व्रतबन्ध संस्कारले बालकलाई आध्यात्मिक, नैतिक र सामाजिक जीवनको अनुशासनमा बाँध्ने माध्यमको रूपमा कार्य गर्दछ।
१२.वेदारम्भ संस्कार

वेदारम्भ संस्कार हिन्दू धर्मका सोह्र संस्कार मध्ये एक महत्वपूर्ण संस्कार हो। “वेदारम्भ” शब्द दुई भागमा बनेको छ — ‘वेद’ अर्थात् ज्ञान वा पवित्र धर्मग्रन्थ, र ‘आरम्भ’ अर्थात् सुरु गर्ने। त्यसैले वेदारम्भ संस्कार भन्नाले वेद अध्ययन सुरु गर्ने धार्मिक प्रक्रिया जनाउँछ। यो संस्कार प्रायः बालकको उपनयन (व्रतबन्ध) पछि गरिन्छ, जब उसले जनै धारण गरी ब्रह्मचर्याश्रममा प्रवेश गरिसकेको हुन्छ। वेदारम्भ संस्कारले बालकको वास्तविक शैक्षिक जीवन — विशेषतः वैदिक अध्ययन —को प्रारम्भ दर्शाउँछ।
वेदारम्भ संस्कार ज्ञान, अनुशासन र आध्यात्मिक जीवनको प्रारम्भिक चरण हो। यस संस्कारद्वारा बालकलाई वेद अध्ययन गर्न योग्य घोषित गरिन्छ। वैदिक कालमा यो संस्कार अत्यन्त पवित्र मानिन्थ्यो, किनभने वेदज्ञानलाई मोक्ष प्राप्तिको प्रमुख मार्ग मानिन्थ्यो। वेद अध्ययनबाट सत्य, धर्म, कर्तव्य र जीवनको आदर्श सिकाइन्थ्यो। साथै यो संस्कारले गुरु–शिष्य सम्बन्धलाई बलियो बनाउँछ, जहाँ गुरु आत्मिक ज्ञानका माध्यमद्वारा शिष्यको जीवनलाई दिशा दिन्छन्।
वेदारम्भ संस्कार उपनयन सम्पन्न भएपछि छिट्टै गरिन्छ। शुभ दिन, शुभ नक्षत्र र शुभ मुहूर्तमा यो संस्कार सम्पन्न गरिन्छ। प्रारम्भमा दियो, कलश, गणेश र अग्निको पूजन गरी वेददेवीको आराधना गरिन्छ। त्यसपछि गुरु बालकलाई वेदपाठको आरम्भिक मन्त्र उच्चारण गराउँछन् — जसलाई “गुरु–उपदेश” भनिन्छ। सर्वप्रथम “ॐ” र गायत्री मन्त्र सिकाइन्छ, अनि त्यसपछि वेदका ऋचा, सूक्त र मन्त्रहरू अध्ययनका लागि आरम्भ गरिन्छ।यो संस्कारलाई ब्रतबन्धको दिनमा गर्ने प्रचलन रहेको छ|
गुरुले बालकलाई वेदाध्ययनका नियम बताउँछन् — जस्तै गुरुको सम्मान, सत्य बोल्ने, असत्य नबोल्ने, अनुशासनमा रहने, र आत्मसंयम पालन गर्ने। बालकले गुरुको अनुमति बिना अध्ययन नगर्ने, सत्य र धर्मको मार्गमा स्थिर रहने प्रतिज्ञा गर्छ।
वेदारम्भ संस्कार केवल वेद पढ्ने कार्यको आरम्भ मात्र नभई आध्यात्मिक जीवनको द्वार हो। यस संस्कारबाट बालकले ज्ञानको महत्त्व बुझ्छ, गुरुको आज्ञा पालन गर्न सिक्छ, र आत्म–उन्नतिको मार्गमा अग्रसर हुन्छ। यो संस्कारले जीवनमा धर्म, ज्ञान र कर्तव्य पालन गर्ने प्रेरणा प्रदान गर्छ।
Your email address will not be published. Required fields are marked *
0 Comments